STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश सरकारबाट आठ अस्पताललाई नौ करोड ५० लाख बजेट विनियोजन

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार

सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि प्रदेश नं ३ सरकारले आठ जिल्ला अस्पतालका लागि रु नौ करोड ५० लाख बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न गराउने लक्ष्यसहित सो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । जिल्लाका अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याइए पनि कार्यान्वयन भने चालू आर्थिक वर्षबाट हुने बताइएको छ । आव २०७६÷७७ का लागि भक्तपुर अस्पताललाई रु एक करोड ५० लाख, हेटौँडा अस्पताललाई रु एक करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई रु एक करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई रु एक करोड, धादिङ अस्पताललाई एक करोड २५ लाख, रामेछाप अस्पताललाई रु एक करोड, रसुवा अस्पताललाई रु ७५ लाख र सिन्धुली अस्पतालाई रु एक करोड २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालहरुमा न्यूनतम सेवा मापदण्डअनुसारको निर्देशिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप गर्ने योजना बनाएर सुदृढीकरणका लागि योजना बढ्ने बताइएको छ । अस्पताल सुदृढीकरणका लागि गत वर्षबाट यो कार्यक्रम शुरु गर्ने कार्यक्रम भए पनि शुरुआती भएकाले यस कार्यले सोचेजस्तो सफलता प्राप्त नगरेपछि यस वर्ष पूर्णता पाउने मन्त्रालयको अपेक्षा छ । यो योजना प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रममा नै समावेश भएकाले प्रदेश सरकारले यस कार्यलाई विशेष महत्वका साथ हेरेको बताइएको छ । यो कार्यको मन्त्रालयले अनुगमन तथा मूल्याङ्कन गरिरहने मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताउनुभयो । अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत विनियोजन गरिएको बजेटबाट सम्बन्धीत अस्पतालले आवश्यक औजार उपकरण खरीद तथा अन्य पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन तथा सङ्क्रमण रोकथाम कार्यक्रम, र भौतिक संरचना उपकरणसहितका विकास निर्माण कार्यक्रममा खर्च गरिने सो मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय