STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन : सचिवालय

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उहाँको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाउनुभएको हो । तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमको रवैया खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । “राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनुभएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारवाहीको पनि माग गरिएको छ ।
Categorized in राजनीति