प्रधानमन्त्रीद्वारा टेलिप्रिन्जेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार
स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत आज मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ ।
नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको मन्त्रिपरिषद्को बैठकले कार्यविधि परिवर्तन गरी प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहँदा भिडियो कन्फरेन्समार्फत बैठकको अध्यक्षता गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली यही भदौ ५ गते त्यसतर्फ जानुभएको थियो ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कामको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकिनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलेको बैठकमा प्रधानमन्त्री ओलीलाई कार्यसूचीबारे जानकारी गराएर आवश्यक निर्देशन लिनुभएको थियो ।
यसैबीच, बैठकपछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र प्राविधिकको सहयोगमा टेलिप्रिन्जेन्समार्फत बैठक सम्पन्न भएकामा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णयबारे हरेक बिहीबार नेपाल सरकारका प्रवक्ताले सार्वजनिक जानकारी दिनुहुनेछ ।
Categorized in राष्ट्रिय