प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र २९, आइतबार
काठमाडौं -प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ ।
प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । यसका साथै काठमाडौंमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ ।
पारिवारिक सम्पत्तिः धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह (आमा)को नाममा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा रामनारायण शाह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको विवरणमा जनाइएको छ ।
श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ, जसलाई पैतृक सम्पत्तिको रूपमा जनाइएको छ । प्रधानमन्त्री कार्यालयमार्फत आइतबार प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।
सुधन गुरुङको ८९ तोला सुन र ४ करोड भन्दा माथिको शेयर
गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।
उक्त विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजारमा लगानी देखिएको हो ।
जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।
त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् । व्यवसायीक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।
एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो शेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन
यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । चैत २३ गते प्रधानमन्त्री कार्यालयमा बुझाइएको विवरणअनुसार उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको छ । मन्त्री गौतम दोस्रो पटक सांसद भएकी हुन् भने पहिलो पटक मन्त्री बनेकी हुन् ।
मन्त्री गौतमले चितवनस्थित भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको उल्लेख गरेकी छन् । यो जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भनी विवरणमा जनाइएको छ ।
उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको देखिएको छ । एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ ।
मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको उल्लेख गरिएको छ। यसका साथै, ९ तोला चाँदी र विवाहमा प्राप्त भएको १ तोला हिरा पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो।
विवरण अनुसार काठमाडौंको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ।
त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ।
उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ। त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।
महिला मन्त्री सीता वादीको सम्पत्तिमा २० वटा कुखुरा, एउटा कुकुर पनि
यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग सम्पत्तिको रुपमा २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।
आज सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।
उनको श्रीमानको पल्सर मोटरसाइकल, नगद ५० हजार र बैंकमा १५ लाख छ । सुन १८ तोला र चाँदी १५ तोला र सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
Categorized in राजनीति

