STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रविधिमैत्री बन्न नसक्दा व्यवसाय सङ्कटमा

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ८, शुक्रबार

प्रविधिसम्बन्धी ज्ञान नभएका लेखापढी कानून व्यवसायीहरुको पेशा सङ्कटमा पर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका लागू गरेपछि जिल्लामा पनि भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालेपछि सफ्टवेयरमार्फत भरेको निवेदन मात्रै स्वीकृत गर्ने भएकाले लेखापढी व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । पहिलादेखि हस्तलिखित निवेदनका साथै तयारी फारम भरेर सेवा दिँदै आएका लेखापढी कानून व्यवसायीहरु नयाँ प्रविधिको ज्ञानको कमीका कारण सोचेजस्तो काम गर्न नसकेको बताउनुहुन्छ । व्यवसायी भन्छन्, “एकातिर प्रविधिको ज्ञान कमी हुनु, अर्कोतिर इन्टरनेट स्पिडमा कम हुनुजस्ता समस्याले गर्दा काममा पहिलाको जस्तो सजिलो र सहज छैन ।” प्रविधिमैत्री व्यवसायीहरुले पनि सामान्य विवरण भर्नका लागि पनि धेरै समय लाग्ने गरेको बताउनुभयो । एक जनाको काम सकाउन कामको प्रकृति हेरेर कम्तीमा तीन÷चार घण्टा लाग्ने गरेको छ । ‘पहिला हातले लेखेर काम गर्नुभन्दा धेरै असजिलो छ ।’ लेखापढी ब्यवसायी मिनप्रसाद हुँमागाईले भन्नुभयो, पहिला एक पानामा नै जग्गाको लिने, दिने, जग्गा साक्षीदेखि सबैको विवरण भर्नुपर्ने थियो, अहिलेको नयाँ सफ्टवेयरमा एक जनाको विवरण भर्न प्रत्येकको छुट्टाछुट्टै पाना छ । बीचको एक पानामात्रै हराएपनि काम त कच्चा देखिने भयो ।’ हक भोगको विवरण पहिलाको राम्रो भएको तर अहिलेकोमा लिने र दिनको मात्रै नाम र विवरण भएकाले खासै पूर्ण प्रमाणको कागज तयारी नदेखिएको ब्यवसायी बताउँछन् । हेर्दाखेरी नै झन्झट लागेको कारण आफुले भू–सेवा केन्द्र नै दर्ता नगरेको हँुमागाईले बताउनुभयो । भू–सेवा केन्द्र सञ्चालक अच्युतराज सञ्जेलले मालपोत कार्यालयमा विवरण ईन्ट्री भएका ब्यक्तिको हकमा भर्नलाई सजिलो हुने तर विवरण नै नभरेकाहरुका लागि निकै झन्झटपूर्ण हुने गरेको बताउनुभयो । मालपोतमा विवरण भरेको हकमा नागरिकता नम्बर हाल्ने वित्तिकै सबै विवरण आउने भएकाले सजिलो लागेको उहाँको भनाइ छ । अर्का लेखापढी ब्यवसायी हिराकाजी लामाले भू सेवा केन्द्र सञ्चालन गरेको भएपनि चलाउन पनि गाह्रो र भन्ने बेलामा नेट र सेवाको तालमेल नमिल्दा काममा धेरै समस्या ब्यहोर्नुपरेको बताउनुभयो । भू–सेवा केन्द्र चलाएको भएपनि खासै काम गर्न नसकेको लामाको भनाइ छ । नेपाल लेखापढी ब्यवसायी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष रोशन श्रेष्ठले अबको समयमा लेखापढी मात्रै नभई प्रविधिमा पनि दक्ष भएन भने ब्यवसाय चलाउन सम्भव नहुने बताउनुभयो ।
Categorized in राष्ट्रिय