STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रशोधित क्यामोमाइलको तेलले बजार पाएन

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ३, मंगलबार

जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुनसकेको छैन । सोको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा बिक्री हुने गरेको छ । यस वर्ष तेल खरीद गर्ने व्यापारी नआउँदा तेल बेच्न नपाएको क्यामोमाइल खेतीमा संलग्न शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान बालाराम घिमिरेले बताउनुभयो । तीन वर्षदेखि क्यमोमाइल खेती गर्दै आएका घिमिरेले तीन कठ्ठा जग्गामा एक किलो सुगन्धित तेल उत्पादन गर्नुभएको छ । “एक जना व्यापारी मात्रै तेल खरीदका लागि पुगे पनि बजार मूल्यभन्दा आधा सस्तोमै खरीद गर्ने भनेपछि तेल बिक्री गरेका छँैनौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रका १६ किसानले १२ किलो सुगन्धित तेल उत्पादन गरेका छन् ।” गत वर्ष क्यामोमाइलको प्रशोधित सुगन्धित तेल किसानले रु ५५ हजार प्रतिकिलोका दरले बिक्री गरेका थिए । शुक्लाफाँटाको कसरौल, बेलडाँडी, सिमलफाँटा र जुडाका गरी १२३ किसानले १२० किलो प्रशोधित सुगन्धित तेल उत्पादन गरेका छन् । सोको बजार मूल्य रु ६० लाख छ । बेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी र बैतडाका किसानले ९७ किलो उक्त तेल उत्पादन गरेका छन् । त्यसको बजार मूल्य रु ४८ लाख ५० हजार छ । यसैगरी, महाकाली नगरपालिकाको दोधारा चाँदनीका किसानले १० किलो र पुर्नवास नगरपालिकाका किसानले १२ किलो तेल उपादन गरेका छन् । उत्पादन गरेको सबै सुगन्धित तेल बिक्री भएको छैन । “दुई वर्ष क्यामोमाइल खेती गरेर तेल उत्पादन गरी चाहेअनुरुपकै आम्दानी भयो”, पुर्नवास–३ अमरबस्तीका किसान विमला चौधरीले भन्नुभयो, “यस वर्ष असिनापानीले गर्दा तेलको उत्पादन कम भयो, त्यसमै व्यापारी तेल खरीद गर्न आएनन्, उत्पादित तेल घरमै थन्क्याउनुपरेको छ ।” यसअघि नेपालगञ्ज र काठमाडौँबाटै व्यापारी घरमै पुगेर तेल खरीद गरेर लैजाने गरेका उहाँले बताउनुभयो । बजारमा क्यामोमाइल तेलको बढ्दो व्यापार रहे पनि व्यापारीले आफूले चाहेको मूल्यमा मात्रै खरीद गर्न थालेपछि यस क्षेत्रका किसान मर्कामा परेका छन् । दुई वर्षअघि बेलडाँडीका १३ किसानले मात्रै क्यामोमाइल खेती गरेका थिए । प्रगति महिला जडीबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्मबहादुर खड्काले भन्नुभयो, “क्यामोमाइलबाट मनग्य आम्दानी हुन थालेपछि ७० किसान यस खेतीमा लागेका छन् ।” उहाँका अनुसार गत वर्ष १३ किसानले चार बिघा जग्गामा आठ किलो ७४० ग्राम क्यामोमाइलको तेल उत्पादन गरेका थिए । यस वर्ष ७० किसानले झण्डै १८ बिघा जग्गामा ४४ किलो क्यामोमाइलको सुगन्धित तेल उत्पादन गरेका छन् । “तेल उत्पादन गरी भण्डारण कक्षमा राखेका छौँ”, खडकाले भन्नुभयो, “खरीद गर्ने व्यापारीको प्रतिक्षा गर्दैछौँ, गत वर्ष यसबेला तेल बिक्री भइसकेको थियो, अझै व्यापारी तेल खरीदका लागि पुगेका छैनन् ।” क्यामोमाइलको प्रशोधित तेल व्यापारीले सस्तोमै खरीद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । उत्पादित तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिन्द्रा, अम्लपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ । क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । यसमा एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ । विभिन्न सौन्दर्य प्रशाधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ । क्यामोमाइल सयपत्री फूल परिवारको सुगन्धित वनस्पतिका रूपमा रहेको छ । यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशाधन तथा औषधिय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ । क्यामोमाइलको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ ।
Categorized in राष्ट्रिय