STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्राविधिक विद्यालयमा विद्यार्थी कम

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २९, बुधबार

महालक्ष्मी नगरपालिकाभित्रको जिल्लाकै एकमात्र नमूना तथा पहिलो प्राविधिक विद्यालय विश्वामित्र गणेश माविमा कोटाअनुसार मात्र ५० प्रतिशत विद्यार्थीले विद्युतीय इञ्जिनीयरिङ अध्ययन गरिरहेका छन् । सो विषय अध्ययन तथा अध्यापनप्रति यहाँका अभिभावकको गलत बुझाइ परेका कारण आधा नै विद्यार्थी सङ्ख्या कमी भएको प्रधानाध्यापक ठाकुरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म विद्युतीय इञ्जिनियरिङ अध्ययन तथा अध्यापन हुने गर्छ”, उपाध्यायले भन्नुभयो, “विद्यालयमा नेपाल सरकार मान्यताप्राप्त प्राविधिक विषय अध्ययन हुने गरे पनि स्थानीय अभिभावकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत सञ्चालित पाठ्यक्रम भन्ने गलत बुझाइ पर्दा आफ्ना छोराछोरीलाई अन्यत्र पढाउन पठाएका छन् ।” प्राविधिक विषयतर्फको प्रत्येक कक्षामा ४८ को कोटा निर्धारण भए पनि २५ ले मात्र अध्ययन गर्ने बताइएको छ । विद्यालयले यस विषयप्रति अभिभावक र विद्यार्थीमा व्यापक प्रचारप्रसार गर्न नसकेका कारण कोटाअनुसारको सङ्ख्या कमी भएको सहायक प्रधानाध्यापक रवीन्द्रकुमार थापाले बताउनुभयो । “विद्यालयले इञ्जिनियरिङतर्फका विद्यार्थीलाई प्रयोगात्मकतर्फ ६० प्रतिशत र सैद्धान्तिकतर्फ ४० प्रतिशत अध्यापन हुने गर्छ”, सहायक प्रधानाध्यापक थापाले भन्नुभयो, “हाम्रा विद्यार्थीलाई आफ्नै प्रयोगशाला प्रयोगात्मक गराउनुका साथै बाहिर भ्रमणमा लगेर विभिन्न अन्य जानकारी दिने गर्छौं ।” आफ्नो विद्यालयबाट इञ्जिनीयरिङ अध्ययन गरेका विद्यार्थी सबै प्रतिष्ठित पदमा काम गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । “२०७३÷७४ सालमा पहिलोपटक १२ कक्षा उत्तीर्ण भएका पाँच विद्यार्थी हाल सरकारी कोटामा निःशुल्क बिई अध्ययन गरिरहेका छन्”, थापाले भन्नुभयो, “ केही विद्यार्थी आफ्नै लगानीमा अध्ययन गरिरहेका छन् भने बाँकी रहेका अन्यले अध्ययनलाई निरन्तरता दिन नसकेका कारण रोजगारमा संलग्न भइसकेका छन् ।” यस विद्यालयमा हरेक विद्यार्थीले निःशुल्क इञ्जिनीयरिङ अध्ययन गर्ने गर्छन् । छ इञ्जिनीयर शिक्षकले इन्सटलेसन, इलेक्ट्रोनिक, कम्प्युटर, ड्रइङ, कार्यशाला ९वर्कशप० गराउने गर्छन् । विद्यालयमा अध्यापन हुने अनिवार्य विषय अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान भने यी विद्यार्थीले अरुसरह अध्ययन गर्ने गरेको बताइएको छ । सरकारले यहाँका प्रत्येक विद्यार्थी सहयोगको लागि भनेर कोष स्थापना गर्न वर्षको रु ११ हजार दिने गरेको छ । विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक मिलेर विद्यालयको पहिचान अघि बढाउन दाता खोजी सङ्गीत, कलाकौशल, हस्तकला निर्माणमा जोड दिइरहेका छन् । तीन वर्षअघिदेखि हस्तकला र चित्रकला प्रदर्शनीमा विद्यार्थीले विभिन्न स्थानमा गएर भाग लिने गरेको यहाँका शिक्षकले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय