प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो
Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १४, मंगलबार
काठमाडौं— बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन ।
थप अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरिने डीएसपी न्यौपानेले बताए ।
मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि यसअघि पनि स्वर्णकारको हत्याको योजना बनेको तथ्य खुलेको हो । उनीहरूले नै दोस्रो प्रयासमा स्वर्णकारको हत्या गर्न सफल भएको बयान दिएका हुन् ।
स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा पनि स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाए पनि त्यसबारेमा प्रहरीलाई खबर नगरेको स्रोतको दाबी छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको थियो । टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
आपसी सम्बन्ध र रिसइबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैयाको मुख्यबजारमै उनलाई मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंजस्थित बयोधा अस्पतालमा लगिएको थियो । तर बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
ना. ५३ प. ९१२८ नम्बरको २२० सिसिको प्लसर मोटरसाइकलमा सवार भई अन्नपूर्ण स्वीट्सबाट मिठाई किनेर विद्यालय फर्किने क्रममा नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा सवार भएका चारजना अज्ञात समूहले सर्राफको टाउको र छातीमा तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए । कलैयास्थित एनआईसी एसिया बैंकको दक्षिणतर्फ मदर्शा टोल जाने बाटोमा उनीमाथि गोली प्रहार भएको हो ।
कालो सर्ट र जिन्स-पाईन्ट लगाएको र मुखमा रुमाल बाँधेका मानिसहरुले गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । यो घटनाले कलैयाको सुरक्षा व्यवस्थामाथि चुनौती थपेको छ । दिनदहाडै हतियारसहित हिँडेका अज्ञात व्यक्तिले प्रधानाध्यापक सर्राफलाई गोली हानेकोले कलैयाको सुरक्षा व्यवस्थाप फितलो भएको स्थानीयहरुले महसुस गर्न थालेका छन् ।
Categorized in अपराध-दुर्घटना

