बंगाली कालिगढहरुलाई राहत प्रदान
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १६, मंगलबार
विजयरत्न असंबरे
ललितपुर– ललितपुर सुनचाँदी व्यवसायी संघले नेपालमा सुनचाँदीको गहना बनाई जीविकोपार्जन गर्दै आएका भारतीय मूलका बंगाली कालिगढहरूलाई राहत प्रदान गरेको छ । लकडाउन अवधि लम्बिएसँगै सुनचाँदीका काम गर्ने कालिगढहरूलाई दैनिकी चलाउन कठिनाई हुँदै गएपछि राहत वितरण गरिएको कुरा संघका कार्यवाहक अध्यक्ष मोतिमान शाक्यले जानकारी दिएका छन् । पाटन मंगलबजारको हःखा कोतपाटीमा सबै कालिगढहरूलाई बोलाएर खाद्य सामग्री वितरण गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष शाक्यका अनुसार २ सयजना कालिगढलाई प्रति व्यक्ति चामल ५ किलो, आँटा ३ किलो, दाल १ किलो, नुन १ पाकेट, चिनी १ किलो वितरण गरिएको छ । राहत पाएपछि कालिगढहरूलाई खुशी हुँदै घरतिर लागेका थिए । “संकटको समयमा भारत घर जाने अवस्था छैन । भारतमा पनि अहिले लकडाउन छ । यहाँ बस्न पनि निकै कठिन भयो । यस्तो बेला राहतले केही समय ढुक्क हुने अवस्था बनाएको छ,” कालिगढ दीपक हुनियाले बताए । महानगरपालिकाले दिएको राहत प्रायः कालिगढहरूले नपाएकाले संघले राहत वितरण गरेको महासचिव विपिन शाक्यको भनाइ छ । एकजना कालिगढलाई एक महिना पुग्ने खाद्य सामग्री प्रदान गरिएको संघले जनाएको छ । संघले दोस्रो चरणको राहत नेपाली कालिगढलाई दिने योजना बनाएको छ । ललितपुर क्षेत्रमा रहेर काम गरिरहेका करिब दुई सयजना भारतीय कालिगढहरुलाई राहत वितरण गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष किरणभाई बज्राचार्यले बताए । Categorized in उपत्यका


