STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बगानमै छानीछानी लिची खान पाइने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

झापाको विर्तामोड नगरपालिका–३ कछुवाबारीमा जयनारायण ढुङ्गानाले व्यावसायिकरूपमा लिची खेती गर्नुभएको छ । उहाँले १५ बिघा जमीनमा लगाएको लिची यतिबेला पाकेर बगानै रातै देखिन्छ । लिचीको स्वाद छानी–छानी उपभोक्तले लिउन् भन्ने उद्देश्य राखेर ढुङ्गानाले यही जेठ ४ गतेदेखि पाँच दिने ‘लिची फेस्टिबल’ गर्न लाग्नुभएको छ । श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ४ गतेदेखि ५ दिनसम्म लिची महोत्सवको आयोजना गरिने कनकाई एजुकेशन फाउण्डेशनका संस्थापकसमेत रहनुभएका ढुङ्गानाले बताउनुभयो । लिची महोत्सवको अवधिमा बगानमा प्रवेश गर्न रु १०० तिर्नुपर्ने उहाँले बताउनुभयो । रु १०० तिर्दा बगानभित्र गएर छानीछानी पाकेको लिची खान पाइने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । अमेरिकाको बोस्टनलगायतका स्थानमा घुम्न जाँदा त्यहाँ ‘एप्पल फेस्टिबल’मा सहभागी भएको अनुभवका आधारमा आफूले यस्तो प्रयास गत वर्षदेखि शुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बगानमा यतिबेला बम्बे, जफ्फरपुर, कलकत्तिया, मेकिलन आदि जातका लिची छन् । बगानमा बच्चादेखि बुढासम्मले सजिलै आफैँ टिपेर खानसक्ने बोट रहेका छन् । लिची खनिज तत्वले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल भएको हुँदा ताजा र पाकेको लिची स्थानीय क्षेत्रमा मनोरञ्जन लिँदै झापालीहरुले नै खान सकुन् भन्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको ढुङ्गानाको भनाइ छ । विर्तामोडको मुक्तिचोकदेखि दुई किलोमिटरको दूरीमा रहेको बगानसम्म पुग्न अनारमनी बजार र विर्तामोडकै धर्मकाँटाबाट निःशुल्क दुई बसको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले लिची फल्न शुरु गरेसँगै घरमा खरीदका लागि व्यापारी आउने गरे पनि नदिएको बताउनुहुँदै भन्नुभयो, “जैविक उत्पादन गरेको छु, व्यापारीलाई भन्दा स्थानीयलाई नै खुवाउने मेरो योजना हो ।” उहाँले गत वर्षदेखि शुरु गरेको महोत्सवलाई निरन्तरता दिने बताउनुभयो ।
Categorized in राष्ट्रिय