STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बङ्गलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ६, आइतबार

काठमाडौं- बङ्गलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने बताएका छन्।

विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरूलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ।

यस्तै शनिबार साँझसम्म ८ सय नेपाली हवाई र स्थलमार्गबाट नेपाल आउँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री आरजु राणाले उनीहरूलाई नेपाल ल्याउन मन्त्रालय तथा ढाकास्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताइन्।

सबै नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छन्।बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको छ।

अहिलेसम्म कम्तीमा एक सय जनाले ज्यान गुमाइसकेको बङ्गलादेशस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। बङ्गलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन्।

बीबीसीका अनुसार बङ्गलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ। त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ।

आन्दोलन चर्किँदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन्। 

Categorized in अन्तर्राष्ट्रिय