बजेट नभएर पार्क बन्न ढिलाइ
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार
एक सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा बजेट अभाव भएर पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन समस्या परेको हो ।
दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । गुरुयोजनाअनुसारको थप पूर्वाधार निर्माण हुन भने बाँकी रहेको पार्कका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई गुरुयोजनाअनुसार विकास गर्न रु ५ करोड भन्दा बढी बजेट आवश्यक पर्छ । बजेट अभावकै कारण थप पूर्वाधार निर्माण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
पार्कभित्र निर्माण हुँदै गरेको मल्लकालीन प्यागोडा शैलीको मन्दिर अन्तिम चरणमा पुगेको छ । तीन तले र ५५ फिट उचाइको यस मन्दिरमा विभिन्न देवीदेवताका आकृतियुक्त ४० वटा टुँडाल हालिएको छ भने २० वटा टुँडाल हाल्न बाँकी रहेको छ । मन्दिरमा सात फिट उचाइको गजूर र १० हातखुट्टा भएको कालिकाको मूर्ति र मन्दिरमा तामाको छानो छाउन बाँकी छ ।
उहाँले भन्नुभयो – “यी सबै काम गर्न अहिले बजेट अभाव भएको छ । बजेट नहुँदा काम अगाडि बढाउन सकेका छैनौं ।” बजेट राखिदिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरिएको छ । रानाले भन्नुभयो – “चालु आर्थिक वर्षभित्रै मन्दिर निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ र प्रदेश सरकारबाट बजेट प्राप्त हुने आश्वासन मिलेको छ ।”
मन्दिरको निर्माण सक्न चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउने र गुरुयोजनाअनुसारको बाँकी पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष बजेट विनियोजन गरिदिन प्रतिबद्धता प्रदेश सरकारले व्यक्त गरेको रानाले जानकारी दिनुभयो ।
शान्ति पार्क पुग्न १६ फुट चौडा ७०० मिटर कच्ची मोटर बाटो निर्माण गरिएको छ । यस अतिरिक्त २०० मिटर पक्की नाला समेत निर्माण भएको छ । पृथ्वी राजमार्गबाट मन्दिरसम्म पुग्ने बाटो कालोपत्र गर्ने योजना छ ।
रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ भने ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, दश फिट चौडाइको एक किमि पक्की सिंढी निर्माण, दुई वटा वनभोज स्थल, एउटा कुरुवा घर र सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् ।
विसं २०६३ भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको सहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिर स्थापना गरिएको थियो । आव २०६६÷६७ मा स्थानीय विकास मन्त्रालय मार्फत व्यास नगरपालिकाको जगेडा कोष र स्थानीय उपभोक्ताको सहयोग गरी रु ३७ लाख ८३ हजारको लागतमा वन क्षेत्रलाई पक्की पिल्लरसहित काँडे तारबार लगाउने भएको थियो । आव २०६७÷६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालय मार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १७ लाख ६७ हजार सहयोगबाट मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माण गरिएको थियो ।
आव २०६८÷६९ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालय मार्फत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु १९ लाख ८ हजार सहयोगबाट मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङ वालको काम भएको थियो ।
आव २०७२÷७३ मा रु ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत् व्यवस्थापन, मन्दिर ढलान, दुई वटा वनभोज स्थलको निर्माण सम्पन्न भयो । आव २०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ३३ लाख १२ हजारबाट मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्य सम्पन्न गरी बाटो मर्मत समेत गरिएको छ ।
आव २०७४÷७५ को असारसम्ममा व्यास नगरपालिकाबाट अनुदान सापटी र सहयोग गरी रु ४४ लाख ६४ हजार प्राप्त भयो र यसबाट मन्दिरमा झ्यालढोका, टुँडाल, बुट्टेदार ईंट्टा, मूर्ति खरिद लगायतका कामहरु भए । पार्क स्थापना भएदेखि अहिलेसम्म पूर्वाधार निर्माणमा रु २ करोड भन्दा बढी खर्च भइसकेको बताइन्छ ।
गुरुयोजना अनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बाल उद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यु टावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।
तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफल यो पार्कले चर्चेको छ ।
पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठका अनुसार यस ठाउँबाट दमौली बजार, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट र गलेखामकोट अवलोकन गर्न सकिन्छ ।
Categorized in राष्ट्रिय


