STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बज्रयोगिनी जात्रा शुक्रबारदेखि 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

नेपालको ऐतिहासिक तथा सांस्कृतिक शहर साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलि शुक्रबार देखि शुरु हुने भएको छ । 
वैशाख ६ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँमा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने तीन हजार ३०० वर्षदेखि शुरु भएको ऐतिहासिक पौराणिक बज्रयोगिनी मेलामा चैतेदशैँको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्ने गरिन्छ ।
साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै सो जात्रा चलाएको जानकार बताउँछन् । चैतेदशैँको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छाला जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्ने गर्न नपाउने मान्यता रहिआएको छ । 
इतिहासविद् प्रकाशमान श्रेष्ठका अनुसार, “मल्लकालमा जात्रा अवलोकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ ।” जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट बज्रयोगिनीको सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरी चार वटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ । 
नेपालको शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति तल साँखु बजारमा ल्याउने चलन चलाइएको हो । जात्रामा  शङ्खरापुर नगरको उत्तरतिर मणिचूड पर्वतस्थित बज्रयोगिनी मन्दिरबाट मूर्तिसँगै सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्तीमा ल्याउने गरिन्छ  । बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजुको बाइसधारामा  पनि मेला लाग्ने परम्परा छ । 
चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ । जात्रा प्रत्येक वर्ष चार टोलका स्थानीयवासीले पालैपालो सञ्चालन गर्ने परम्परा छ । यसपटक बज्रयोगिनी जात्रा मूल व्यवस्थापन समितिमार्फत् जात्रा सञ्चालन गरिने भएको छ । 
काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङलगायतका छिमेकी जिल्लाबाट जात्रा हेर्न आउनेको बाक्लो उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । जात्रा वैशाख ६ गतेदेखि शुरु भएर वैशाख १४ गते सकिने छ ।
Categorized in राष्ट्रिय