बञ्चरेडाँडामा फोहोर फाल्न सकिएन्, काठमाडौंको सडकमा फोहोरको पहाड
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २६, बिहिबार
काठमाडौं - काठमाडौंका सडकमा महिनादिनदेखि थुप्रिएका फोहोरले यहाँका सडक दुर्गन्धित बन्दै गएको छ भने अर्कोतर्फ यहाँको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू पनि फोहोर नफाली फर्किएका छन् ।
बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ ।
फोहोरकाे राजनीतिले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई काम गर्ने सहज वातावरण बनाउन नदिइएको देखिन्छ । काठमाडौंका मेयर तथा उपमेयरको प्रत्यक्ष संलग्नता हुँदा पनि अझै पनि यहाँकाे फोहोर उठ्न नसक्नुले उनीहरूले केही गर्न सकेनन् भन्ने मानसिकता दिने राजनीति हावी रहेकाे देखिन्छ ।
सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।
तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।
यद्यपि, बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित विरोध जारी राखेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेन ।
Categorized in उपत्यका

