STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बढ्दै लैङ्गिक हिंसाका घटना

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार

पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । सोअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र १३५ लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । यस्तै आव २०६८÷६९ मा २५, २०६९÷७० मा ५६, २०७०÷७१ मा ७२, २०७१÷७२ मा ७०, २०७२÷७३ मा ८४, २०७३÷७४ मा ९८, २०७४÷०७५ मा १०० र २०७५÷०७६ मा १३५ लैङ्गिक हिंसाका घटना भएको केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो । तथ्याङ्क हेर्दा वर्षेनी लैङ्गिक हिंसाका घटनामा वृद्धि हुँदै गएको पाइएको छ । यस वर्षको लैङ्गिक हिंसाका घटनामध्ये ११५ महिला तथा २० पुरुष र गत वर्ष १०० हिंसापीडित मध्ये १० पुरुष हिंसामा परेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सागर राजभण्डारीले जानकारी दिनुभयो । “हिंसाका घटनाहरु पहिला पनि नभएका होईनन्”, राजभण्डारीले भन्नुभयो, ‘गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु खुल्न थालेका हुन् ।” राजभण्डारीका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैगिक हिंसा हुँदै आएको पाइएको छ । अस्पतालमा तीन वर्षदेखि ९६ वर्षका उमेर समूहका महिला तथा पुरुष हिंसामा परेका छन् । तीमध्ये अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका रहेको केन्द्रले जनाएको छ । “लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनस्थापनासम्मको काम गर्र्छौँ”, भट्टराईले भन्नुभयो “जनशक्तिको अभावका कारण कार्यक्षमता बढाउन सकेका छैनौंँ ।” महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानूनी प्रक्रियामा जाने अस्पतालका डा शर्मिला ढकालले जानकारी दिनुभयो । विसं २०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रुपमा सक्दो सहयोग गर्दै आएको छ । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायको रहेको भट्टराईको भनाइ छ ।
Categorized in अपराध-दुर्घटना