बन्द गराउन दाहाल गाडीमा र नेपाल स्कुटरमा
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार
काठमाडौँ – प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ।
बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्।
देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए। गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेर चाउचाउ र चिउरा लिएका थिए।
त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेल तर्फ लागे। गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए। उनीसँगै नेतृ पम्फा भुसाललगायतका नेता कार्यकर्ता सहभागी थिए।
बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन्।
छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधन सञ्चालन भएका छन्। चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन्। खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन्। बन्द आव्हानकर्ताले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन्।
बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए।
चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसीलगायतका नेता कार्यकर्ता नियन्त्रणमा लिएको छ।
यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।
हामहड्ताल सफल बनाउन प्रचण्ड–नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए।
युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरूङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको थियो।
उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए।
Categorized in राजनीति

