STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाँकेमा रगतको माग बढ्दो 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ । 
बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । 
दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।
सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको प्रमुख रेग्मीले बताउनुभयो । नेपालगञ्जमा ठूला–साना गरी करीब २४ अस्पताल सञ्चालनमा छन् । 
रक्त सञ्चार केन्द्रले मागअनुसार रगतको सङ्कलन पनि बढाउँदै लगेको छ । दैनिक आठ देखि नौ सय पिन्टसम्म रगत मौज्दात हुने गरेको प्रमुख रेग्मीले बताउनुभयो । “संस्थागत रुपमा दैनिकजसो रक्तदान भइरहेकाले रगतको मौज्दातमा कमी हुन पाएको छैन,” उहाँले भन्नुभयो, “कमी हुने अवस्था आयो भने रक्तदातालाई आह्वान गर्ने गरेका छौँ ।”
रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै सङ्कलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ । 
नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले क्षेत्रीय रक्तसञ्चार सेवालाई थप व्यवस्थित र आधुनिकीकरण गर्नका लागि स्रोतसाधनको समस्या भएकाले स्थानीय तहलाई सहयोगका लागि अनुरोध गरिएको बताउनुभयो ।
        
Categorized in राष्ट्रिय