STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाँके साक्षर जिल्ला घोषणा हुन सकेन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

बाँके अभै साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यस जिल्लाका तीन स्थानीय तहले मात्र साक्षरताको तथ्याङ्क सङ्कलन गरेका छन् भने बाँकी पाँच स्थानीय तह तथ्याङ्क सङ्कलनकै क्रममा रहेका छन् । सबै स्थानीय तहको तथ्याङ्कका आधारमा मात्र बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सकिन्छ । कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकाले मात्र तथ्याङ्क सङ्कलनको काम सकेका छन् भने नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ र जानकी गाउँपालिका तथ्याङ्क सङ्कलनमै अड्किएका छन् । “गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम थियो, तर स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको छ”, शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले भन्नुभयो । बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश ५ को सामाजिक विकास मन्त्रालयहरुले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । तर जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समय पर धकेलिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले यहाँका सबै स्थानीय तहका प्रमुखसँग बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न आवश्यक समन्वयका लागि एक चरणको बैठक बसेर छलफल गरेको कार्यालयप्रमुख यादवले बताउनुभयो । सो कार्यालयले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आप्mनो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरहरुका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ । विसं २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत मानिस साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “०६८ को जनगणनामा ६३ प्रतिशत साक्षर भएको देखाए पनि अहिले ठ्याक्कै यति नै भन्ने तथ्याङ्क छैन, तर बाँकेमा अहिले करीब ८० प्रतिशतभन्दा बढी नागरिक साक्षर छन् ।”
Categorized in राष्ट्रिय