STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाख्रा बेचेर मासिक एक लाख आम्दानी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २१, बिहिबार

यहाँका एक युवाले बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । झण्डै १४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका चापाकोट–४ घुर्लीचौरका ४५ वर्षीय केशरबहादुर खाँणले गाउँ फर्केर थाल्नुभएको बाख्रापालन व्यवसाय अहिले फस्टाउँदै गएको छ । सात वर्ष भारतीय सैनिक र सात वर्ष बेलायतमा रोजगारीमा रहनुभएका खाँण पछिल्लो छ वर्षदेखि आफ्नै गाउँघरमा फर्केर व्यावसायिकरूपमा बाख्रापालन व्यवसाय थाल्नुभएको हो । विसं २०७० चैतमा ‘कालिका बाख्रा फार्म’ दर्ता गरी सञ्चालनमा ल्याएको फार्म अहिले जिल्लाकै नमूनाको रूपमा विकसित भएको छ । छ वर्षअघि २५ माउबाख्राबाट व्यवसाय थाल्नुभएका खाँणको फार्ममा हाल १२० माउबाख्रा छन् । “मैले मासुका लागि खसी, बोका बिक्री गर्ने नभई बीउका लागि बिक्री गर्ने गरेको छु”, युवा व्यवसायी खाँणले भन्नुभयो, “मेरो फार्ममा ८० प्रतिशत बोयर जातका बाख्रा छन् यो मासुभन्दा पनि बीउका लागि माग बढी हुने गरेको छ ।” बीउका लागि साढे तीन महिनादेखि चार महिना अवधिबाट पाठापाठी बिक्री गर्दै आउनुभएको छ । फार्म सञ्चालनमा आएसँगै दुई कामदारले रोजगारी प्राप्त गरेका छन् । झण्डै रु १५ लाखबाट शुरु भएको व्यवसाय हालसम्म आइपुग्दा रु एक करोड बढी लगानी भएको युवा व्यवसायी खाँणले बताउनुभयो । “बाख्रा बिक्रीबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ भने वर्षभरिमा ११÷१२ लाख आम्दानी हुन्छ”, युवा व्यवसायी खाँणले भन्नुभयो, “दाना औषधिमुलो र अन्यमा गरी रु दुई लाख खर्च हुने र वार्षिक रु १० लाखको हाराहारीमा बचत हुने गरेको छ ।” चालिस रोपनी व्यक्तिगत र झण्डै २० रोपनी जग्गा भाडामा लिएर विकासे घाँसहरु वर्षिम, जै, नेपियर तथा राइखनियो, बडहर, किम्बु, इपिललिपिल, टाँकी, बकाइनोजस्ता डालेघाँस लगाएको युवा व्यवसायी खाँणले बताउनुभयो । “वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने युवायुवतीको चाप बढ्दै जाँदा गाउँबस्ती खाली हुने वा बूढापाकामात्रै गाउँमा रहने परिस्थिति रहेको छ”, उहाँले भन्नुभयो, “रोजगारीका लागि विदेशिने तथा शहर पस्ने युवाहरुलाई गाउँमै पनि प्रशस्तै सम्भावना तथा अवसरको खोजीका लागि अभिप्रेरित गर्नु आवश्यक छ ।” फार्म अवलोकन तथा अध्ययनका लागि विभिन्न युवायुवतीको समूह यहाँ आउने गर्छन् । उनीहरुले फर्केर गएपछि व्यक्तिगत तथा सामूहिकरूपमा व्यवसाय थालनीका लागि प्रक्रिया शुरु गरेको जानकारी आफूले पाएको उहाँको भनाइ छ ।
Categorized in बिजनेस