STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १४, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।” बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको उहाँले बताउनुभएको छ । बासस्थानको नाश, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधिले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदो भएकाले विश्व संरक्षण सङ्घले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा साइटिसले अनुसूची–१ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गर्नुभएको छ । नेपालमाा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकामा सन् २०१८ मा बढेर २३५ पुगेको छ । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो नभएको र जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने र बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान पनि गर्नुभएको छ ।

राष्ट्रपतिबाट बाघ संरक्षणमा सरोकारवालाको प्रशंसा

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज उहाँले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गर्नुभएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार आज नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ । “बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकामा मलाई खुशी लागेको छ । जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्ने दायित्व हामी सबैकोे हो”, शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताउनुभएको छ । बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ । बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।
Categorized in राजनीति