STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाढीको उधुम, जताततै जलमग्न, कयौंले ज्यान गुमाए, सयौं परिवार विस्थापित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार

अविरल वर्षापछि आएको बाढी र पहिरोले देशैभर उधुम मच्चाएको छ । कयौंको ज्यान गएको छ, कयौं वेपत्ता छन् भने सयौंको संख्याका परिवार विस्थापित बनेका छन् ।

काभ्रेपलाञ्चोकको इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता

इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् । शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताउनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन् । अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन् । माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ ।” उहाँका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन । अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको नेपालले बताउनुभयो । “आज पनि बिहानैदेखि पानी परिररहेको छ, तर पनि हामी प्रयासरत छौँ”, नेपालले भन्नुभयो । उहाँले स्थानीय विपद् व्यवस्थापन समिति, प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिको संलग्नतामा खोजी भइरहेको बताउनुभयो । दुई जिल्लाको सीमा भएर बग्ने इन्द्रावती नदीको बीचमा सयौँ रोपनी खेत भएका कारण बर्सेनि वर्षायाममा मानिसका साथै खेतसमेत बगाउने गरेको छ । यसैबीच अविरल वर्षाका कारण सात घर पहिरोको जोखिम भएकाले वडा कार्यालयले राहत उपलब्ध गराएको छ । सात परिवारलाई राहतसहित अन्यत्रै सारिएको वडाध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार वर्षा अझै लम्बिँदा सो वडामा थप घर जोखिममा पर्ने देखिएको छ । [caption id="attachment_36178" align="alignnone" width="900"] पोखरा महानगरपालिका ३३ तल्लो खुर्बादीस्थित टारी खेतमा लगातारको बाढीसँगै शुक्रबार पहिरो गएपछि पुरिएको खेत । धान हरियो बन्दै गएका अवस्थामा खेत पुरिएसँगै यहाँका कृषक समस्यामा परेका छन । तस्वीरः वासुदेव पौडेल[/caption]

त्रियुगा नदीको बाढीले बगाउँदा एकको मृत्यु

शनिबार साँझ त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई नदीको बाढीले बगाएको हो । बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेको र प्रहरीमा समेत खबर भएपछि प्रहरीको सहयोगमा खोजी भए पनि बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो । शनिबार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको पनि जिल्ला प्रहरी कार्यलय उदयपुरले बताएको छ ।

सिसुवा पहिरोमा चारको जीवितै उद्धार, हराइरहेकाको पहिचान

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उहाँले बताउनुभयो । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खा“दबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् । [caption id="attachment_36176" align="alignnone" width="900"] भरतपुर महानगरपालिका वडा नम्बर २७बmउस र २८ को सिमा क्षेत्र न्युरे चोकमा नारायणीले कटान गरेको क्षेत्रमा नदी कटान रोक्नका लागि काम गर्दै शनिवार सुरक्षा निकायका कर्मचारी । तस्वीर ः नारायण अधिकारी[/caption]

बबई नदीको बाढीमा बगेर दुई बेपत्ता

बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटमा पाँच सय परिवार विस्थापित, नौ शव भेटिए

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिनुभयो । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताउनुभयो । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताउनुभयो । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौँबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । [caption id="attachment_36175" align="alignnone" width="900"] वर्षाका कारण बाजुराको बूढीगङगा नदीमा पानीको सतह बढेपछि बूढीगङगा र त्रिवेणी नगरपालिका जोडने ताप्रीसेरामा रहेको झोलुङगे पुलमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी । तस्विर ः गंगराज पण्डित[/caption]

नौको शव भेटियो

बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन । बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् ।

झापाको बाढीमा एकको मृत्यु, पाँच परिवार विस्थापित

झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उहाँले बताउनुभयो । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ । असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए । विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर ९इओसी० का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार ३१० परिवार बाढीको जोखिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् । यता भद्रपुर नगरपालिका वडा नं ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन् । [caption id="attachment_36173" align="alignnone" width="900"] अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ का ४२ घरपरिवार विस्थापित भएका छन । तस्वीर ः कृष्ण न्यौपाने[/caption]

उच्च सतर्कता अपनाउन आग्रह

झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागले आज बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ । विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ । विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जोखिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ । मध्यपूर्वी तराईको जनजीवन अस्तव्यस्त महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो । पानी नरोकिए बाढी बढ्दै जाँदा जिल्लाका मुख्य सडकहरु जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिवास, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवासमा यातायात चल्ने अवस्था छैन । लकडाउनमा यात्रुवाहक सवारी साधन ठप्प भए पनि साना सवारी साधन ९जिप, मोटरसाइकल र साइकलसहित० चल्दै आएका यी सडकमा अब पैदल हिँड्न पनि नसकिने अवस्था छ । जिल्लाका नदीहरूमा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान शुरु भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा डुबानले प्रभावित बनाएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताउनुभयो । जिल्लाका ४० भन्दा बढी बस्ती बाढीको उच्च जोखिममा रहेका सिंहको भनाइ छ । पछिल्लोपटक यसपालि मध्यअसारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन । खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला ९तीव्रगतिको बगाइ० चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो । भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्बारे सचेत बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । लोहारपट्टी, बलवा र जलेश्वर नगरपालिका क्षेत्रका केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको कटुवालको भनाइ छ ।

रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाँै सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगाँैंडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमाथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।
Categorized in राष्ट्रिय