बाढी, पहिरो र ढुबानबाट ९० हजार घरपरिवार प्रभावित ः नेपाल रेडक्रस
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार
मनसुन शुरु भएपछि बाढी, पहिरो तथा ढुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ ।
बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्याङ्क सङ्कलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।
तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६६२ तारपोलिन तथा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा ३७४ जना तालीम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेको छ ।
प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक ÷एकजना विशेषज्ञले काम गरिरहेका छन् ।
प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश प्रभाव गर्ने कार्य जारी रहेको सोसाइटीले जनाएको छ ।
Categorized in राष्ट्रिय


