बालकुमारी घटना : ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखा निर्देशकको जिम्मेवारी खोसियो, पीएसओ र डीएसपी निलम्बनमा
Janjati Khabar – Janjati Khabar | २०८० पौष १५, आइतबार
काठमाडौं- बालकुमारीमा दुई जनाको ज्यान जानेगरी घटना भएपछि सरकारले ललितपुरमा कार्यरत अधिकारीको जिम्मेवारी व्यापक हेरफेर गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितको छलफलले भीड नियन्त्रण गर्न नसकेको भन्दै ललितपुरका सीडीओसहित प्रहरी अधिकारीको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय भएको हो ।
काठमाडौंमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निलम्बन गरिएको बारे बताएका छन् ।
‘हामीले यो ईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ। अर्को हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानविनको रिर्पोट नआउँदासम्म निलम्बन गरिएको छ।’
जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृहमन्त्रालय तान्ने निर्णय भएको छ । यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी छ ।
निलम्बनमा परे ईपीएस कोरिया शाखा प्रमुख सुवेदी
सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो । यसअघि ईपीएस कोरियाका लागि सीप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो ।
सरकारले सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।
शुक्रबारको घटनापछि शनिबार बिहानैदेखि श्रम मन्त्रालयका सबै विभागीय कर्मचारीहरू र मन्त्रीबीच त्यसबारे छलफल भएको थियो ।
उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयले निलम्बनको प्रस्ताव लगेको थियो। जुन स्वीकृत भएको स्रोतले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय

