बालप्रतिभा एरोनको नयाँ म्युजिक भिडियो आउँदै
Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ फाल्गुण २८, शुक्रबार
कीर्तिपुर - बालप्रतिभा एरोन महर्जनले गाएको गीत ‘मां (आमा)’ को म्युजिक भिडियो निर्माण हुन लागेको छ ।
संगीतकार भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध यस गीतको म्युजिक भिडियो निर्माणको मुहूर्त आज शुक्रबार सम्पन्न भएको छ ।
मुहूर्त कार्यक्रममा गायक महर्जनका हजुरबुबा राजु महर्जनले क्यामरा पुजा गरेका थिए । पूजापछि गीतको बोलको केही भागकाे छायाँकन समेत गरिएकाे थियो ।
म्युजिक भिडियोको निर्देशन, छायांकन एवं सम्पादन योवन शाक्यले गर्नेभएका छन् । म्युजिक भिडियो २०७८ को नववर्षको अवसरमा सार्वजनिक गर्ने लक्ष्य रहेको गायक महर्जनका अभिभावक राज्यलक्ष्मी र जनक महर्जनले जनाएका छन् ।
गीतको संगीत संयोजन प्रिन्स नेपालीले गरेका छन् भने यसमा लोकप्रिय फ्युजन ब्यान्ड कुटुम्बले वाद्यवादन गरेका छन् ।


