STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया नाम परिवर्तन विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् । “घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”, मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार यस्तै छ”, सो विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टाले भन्नुभयो, “विशेष गरी गरीबी र चेतना अभावका कारण सानै उमेरमा विवाह गरेर पढाइ छाड्ने बालिका धेरै छन् यहाँ ।” सोही विद्यालयकै कक्षामा ६ पढ्दै गर्दा फुलमाया नाम परिवर्तन को पनि बिहे भयो । उनी पनि बिहे गरेपछि विद्यालय आउनै छाडिन् । उनलाई पढ्ने उमेरमा विद्यालयभन्दा पनि घरधन्दाको बोझ थपिएपछि बीचमै विद्यालय छाड्न बाध्य भइन् । “घरपरिवार आफन्त सबैले बिहे गर्न दबाब दिए, बिहे गरेपछि पनि पढ्छु भनेको थिए तर घरबाट पठाएनन्, घरायसी कामधन्दाले एकछिन पनि फुर्सद छैन”, उनले भनिन् । पढ्ने रहर भए पनि घर परिवारमा पढ्ने वातावरण नै नभएको उनी बताउँछिन् । सोही विद्यालयमा पढ्ने श्यामबहादुर र बाटुली ९नाम परिवर्तन० ले पनि विवाह गरे । उनीहरु विवाह नहुञ्जेलसम्म नियमित विद्यालय आउने जाने गर्थे । विवाह भएपछि अहिले नियमित विद्यालय आउनै छाडेका छन् । यो विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने अधिकांश बालिका रहेका छन् । वर्षेनी पाँच÷सात जनाको हाराहारीमा विद्यालय उमेरमा नै विवाह गरेर घरजम गर्ने गरेको प्रधानाध्यापक बिरकट्टाले बताउनुभयो । “बिहेपछि बीचमै पढाइ छाड्ने अधिकांश छन् भने केही बालिका कहिलेकाहीँ मात्र विद्यालय आउने जाने गरेका छन्, बिहेपछि उनीहरुको पढाइमा नियमितता छैन”, उहाँले भन्नुभयो । ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिन्छ तर, पाल्पामा बालविवाह गर्ने र यसपछि बालिका यौन हिंसाको शिकार हुने क्रम बढ्दो देखिन्छ । नेपालको कानूनले २० वर्षमुनि विवाह गर्न निषेध गरेको छ । तर, कानूनबारे जानकारी नहुँदा र चेतना अभावका कारण धेरैजसो अभिभावकले विद्यालय उमेरमा नै छोरीलाई बिहे गरेर पठाउने गरिन्छ । कतिपयको पारिवारिक दबाब, कतिपयले आफ्नै रहरले बिहे गरी बालिका कलिलै उमेरमा घरजम गर्दै आइरहेका छन् । बिहे भएपछि बीचमै विद्यालय छाडेर घरायसी धन्दामा सीमित रहँदै आएको पाइएको छ । ग्रामीण भेगमा शिक्षाको चेतना अझै पनि अभिभावकसमक्ष नपुगेका कारण उमेर नपुग्दै आफ्ना सन्ततिको विवाह गरिदिँदा उनीहरु पढ्नबाट वञ्चित हुन पुगेको उहाँले बताउनुभयो । विद्यालयले बालविवाह न्यूनीकरणका लागि बेला बेलामा अभिभावकलाई बोलाएर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गरीब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका परिवारमा उमेर नपुग्दै छिटो विवाह गरेर वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ । शहरोन्मुख हुँदै गरेका क्षेत्रमा बालविवाहको दर घट्दो अवस्थामा रहे पनि दुर्गम, विकट क्षेत्रका विद्यालयमा उमेर नपुग्दै बालिका विवाह गरेरबीचमै पढाइ छाडी घरजम गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । “विद्यालयमा पुगेर अभिभावक, विद्यार्थीबीचमा बालविवाहले समाजमा निम्त्याउने परिणाम, कलिलै उमेरमा अभिभावक बन्दा स्वास्थ्यमा पार्ने असरजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, नगर शिक्षा अधिकृत अर्यालले भन्नुभयो । विद्यालय उमेरमा नै विवाह गरेपछि उनीहरु घरायसी कामको बोझका कारण विद्यालय छाड्न बाध्य भएका छन् । पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छाडेर घरजम गर्नुपर्ने बाध्यता छ । “विद्यालय पढ्न पुगेकी छात्रा १०÷११ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता हुन आउँछ । जसले उनीहरु पढाइ छाड्न बाध्य हुन्छन् । अहिले यो समस्या सामाजिक परम्परा बनिरहेको छ”, शिक्षा अधिकृत रमाकान्त अर्यालले भन्नुभयो । भएको नियम कानूनबारे चेतना नहुँदा पनि सानै उमेरमा विवाह गर्ने प्रचलनले बाल यौन हिंसा बढाएको छ, उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गई यसले बाल यौनहिंसासमेत बढाएको छ ।”
Categorized in राष्ट्रिय