STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालसघन उपचार कक्ष सञ्चालनमा ल्याइने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

भरतपुर अस्पतालले बालसघन उपचार कक्ष सञ्चालनमा ल्याउने भएको छ । अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले बालसघन उपचार कक्ष स्थापना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै बालसघन उपचार कक्षको अभावमा उपचार सम्भव नभएपछि एक महीनादेखि १४ वर्ष उमेर समूहका धेरै बालबालिकालाई अन्यन्त्र पठाउनुपरेको जानकारी दिनुभयो । 
उहाँले बालसघन उपचार कक्ष स्थापनाका लागि चाँडै नै आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो । बगाले वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ । केन्द्रीय अस्पतालको मान्यता पाएका यो अस्पतालमा १२ श्ययाको नवजात शिशु सघन कक्ष रहेको छ भने सघन उपचार कक्ष २० श्ययाको रहेको छ । जन्मेदेखि ३० दिनसम्मकालाई नवजात शिशु सघन उपचार कक्षमा र १४ वर्ष माथिकालाई सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ । 
यो अस्पतालमा हरेक वर्ष १५ हजारको हाराहारीमा बच्चा जन्मने गर्छन् । काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा जन्माउने अस्पतालका रुपमा भरतपुर अस्पताल परिचित छ । बगालेले अन्य अस्पतालमा जन्मिएका बच्चा पनि उपचारका लागि यहाँ आउने गरेको बताउनुभयो । गत वर्ष अस्पतालमा बालसघन उपचार कक्ष नहुँदा सर्पदंशका कारण एक बालकको ज्यान गएको थियो । अस्पतालमा यो सेवा यथाशीघ्र शुरुआत गर्न पहल कदमी थालेको बगालेको भनाइ छ ।
विसं २०१३ मा १५ श्यायाबाट शुरु भएको भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा रुपान्तरण भएपछि ५०० श्ययाको अनुमति पाए पनि अहिले ६०० श्यया सञ्चालनमा छन् । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिन्छन् । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि बिरामी यहाँ आउने गर्छन् । यो अस्पतालले वार्षिकरुपमा करीब दुई लाख बिरामीले सेवा लिने गरेका छन् । 
Categorized in राष्ट्रिय