STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालुवाटार जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १, शनिबार

काठमाडौं, पुस ३०- सरकारी वकिलको कार्यालय काठमाडौंबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सीआईबीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सीआईबीले तथ्य तथा कागजातको विष्लेषण तथा थप अनुसन्धानमा थालेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, 'सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको छ, सोहीअनुसार कार्यान्वयन गरेर फेरि पठाइन्छ ।'

महतोका अनुसार ब्यूरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा–२७६ अनुसार लिखत किर्तेसम्बन्धी मुद्दाको हदम्याद दुई वर्षको भए पनि उक्त मुद्दा मुलुकी ऐन आकर्षित हुने भएकाले सोही अनुसारको हदम्याद हुने जनाइएको छ ।

सीआईबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सीआईबीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । वि.सं. २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ललिता निवास प्रकरणमा १ सय ७५ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त मुद्दा सीआईबी र अख्तियारले हेरिरहेको छ । रासस

Categorized in राजनीति