बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ९, बिहिबार
बाल गायक एरोन महर्जनको नेपालभाषाको गीत ‘यःमां’ को म्यूजिक भिडियो एक कार्यक्रमको बीचमा सोमबार सार्वजनिक गरिएको छ । कीर्तिपुरमा आयोजित सो कार्यक्रममा बोल्नु हुँदै कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो मन्तव्य राख्ने क्रममा उपप्रमुख रिजालले स्थानीय विषय नेपालभाषामा पठनपाठन गराउने घोषणा पहिले नै भइसकेको बताउँदै पाठ्यक्रम विकासको काम अघि बढ्दै गरेको जानकारी गराउनुभयो ।
सो कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख खड्काले एरोनले अंग्रेजी वा नेपालीमा पनि गीत गाउन सक्थ्यो होला, तर एरोनले आफ्नो मातृभाषामै गीत गाएको देख्दा खुसी लागेको कुरा व्यक्त गर्नु भयो ।
सो म्युजिक भिडियो प्रिमियर कार्यक्रममा वरिष्ठ सिने पत्रकार साथै नेपालभाषाका प्रथम म्यूजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले म्यूजिक भिडियो विभिन्न पक्षहरुलाई केलाउँदै समीक्षात्मक टिप्पणी राख्नुभयो ।
नेवाः पत्रकार राष्ट्रीय दबूया केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले एराेनले नेपालभाषाकाे साँगितिक क्षेत्रकाे भविष्य उज्वल रहेकाे अनुभूति गराएकाे विचार राख्नु भयो भने कार्यक्रममा किर्तिपुर वडा नं १० का वडा अध्यक्ष अमन महर्जन , सुरशाला संगीत एकेडेमीका अरुण थापा लगायत ले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा एरोनको परिचयात्मक भिडियो समेत प्रदर्शन गरिएको थियो भने एरोनले लाइभ गीत गाउँदै पनि सुनाएका थिए ।
सार्वजनिक गरिएको गीतको छायाङ्कन रक्कि महर्जनले गरेका छन् भने भिज्युअल एडिटिङ र निर्देशन योबन शाक्यले गर्नु भएको हो भने गीत रचना र संगीत सृजना भुवन महर्जनले गर्नु भएको हो । उक्त म्युजिक भिडियोमा गायक एरोन महर्जनको साथमा सरीता बज्राचार्य र बाल कलाकार सदीक्षा बज्राचार्य र अभिनेत्री किपाः श्रेष्ठले अभिनय गर्नु भएको छ समा रोजा मानन्धरले गर्नु भएको छ ।
Categorized in साहित्य-कला

