STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाल बचत गर्दै राउटे बालबालिका

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

डडेल्धुराको परशुराम नगरपालिकामा रहेको राउटे समुदायका बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंँगै जङ्गली खाद्यवस्तु र जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्तामध्ये केही यहाँस्थित सबैभन्दा ठूलो ‘शीर्ष साना सहकारी’ मा ३६ राउटे बालबालिकाले महिनापिच्छे जम्मा गर्न थालेको सहकारीका अध्यक्ष हर्कमती कार्कीले जानकारी दिनुभयो । राउटेका घरको पूरै सदस्यले जन्मेदेखि बाँचुञ्जेलसम्म सामाजिक सुरक्षावापत मासिक रु दुई हजार प्राप्त गर्दै आएको नगरपालिकाले जनाएको छ । लोपोन्मुख जातिको व्यवस्था र भविष्य सुधारका लागि नगरपालिकाले पनि योजना ल्याउने नगर प्रमुख भीमबहादुर साउदले बताउनुभयो । वडा कार्यालयसँगको समन्वयमा सहकारी संस्था आफैंँले बालबालिकालाई रकम बाँड्ने व्यवस्था मिलाएर रकम अनिवार्य बचत गर्न पहल गरेको हो । छ महिनादेखि शुरु गरेको बालबचतमा राउटे बालबालिकाले सबैभन्दा बढी रु २० हजार र सबैभन्दा कम रु ६ हजार जम्मा गरेका छन् । बालबचत हुनु थालेपछि राउटे बालबालिका पनि दङ्ग भएको राउटे विकास समाज संस्थाका संयोजक दानसिंह राउटेले बताउनुभयो । सामाजिक सुरक्षा भत्तावापत पाउने रकमका साथै विभिन्न विकासनिर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत राउटेहरु संलग्न हुन थालेको संस्थाका संयोजक दानसिंहले जानकारी दिनुभयो । शीर्षका ३६ राउटेका सन्तानले बचत शुरु गरे पनि जोगबुढाका ४१ राउटे परिवार भने अझै व्यावसायिक हुन बाँकी रहेको हर्कसिहं राउटेले बताउनुभयो । पुरानो बानी हटिनसकेकाले बालबालिकाको भविष्यका बारेमा आफूहरुले ख्याल नगरेको उनीहरुको भनाइ छ ।
Categorized in राष्ट्रिय