STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाल विवाह न्यूनीकरण गर्न प्रतिबद्ध

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ८, बुधबार

दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् । “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै न्यूनीकरण हुन सकेको छैन, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप निरन्तरता दिनेछौँ ।” बाल विवाहले प्रजनन् स्वास्थ्यमा पनि निकै ठूलो असर पर्ने भन्दै यसको न्यूनीकरण अपरिहार्य रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार अहिले बाल विवाहले पार्ने प्रभावका विषयलाई समेटेर विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम भइरहेको बताउनुभयो । उहाँले मन्दिरका पुजारीहरुलाई बाल विवाह गर्न आएमा त्यो विवाह नगरिदिन पनि अनुरोध गरेको र अबको केही समयमा थारु समुदायका अगुवा ९गुरुवा० हरुसँग पनि समन्वय गर्ने बताउनुभयो । त्यस्तै दंगीशरण गाउँपालिकाले पनि बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । “हामी बाल विवाह न्यूनीकरण गर्ने अभियानमा लागिरहेका छौँ”, उहाँले भन्नुभयो । बाल विवाह न्यूनीकरण गर्न सामाजिकरूपमा निकै चुनौती भए पनि त्यसलाई जसरी पनि पार गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले बाल विवाहले सामाजिकरूपमा मात्रै नभई स्वास्थ्यका हिसाबले पनि निकै असर गरिरहेको उहाँको भनाइ थियो । अहिले बाल विवाह हुने गरेको भए पनि लिखित निवेदन नआउँदा बाल विवाह न्यूनीकरणमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख जीवनविक्रम शाहले बताउनुभयो । “हामीले जाहेरी आएपछि बाल विवाह रोक्ने प्रयास गरिरहेका हुन्छौँ”, उहाँले भन्नुभयो, “तर जाहेरी नै नआउँदा पनि बाल विवाहले प्रश्रय पाइरहेको हुन्छ ।” बाल विवाहले घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना भइरहेकाले गाउँगाउँमा सचेतना प्रदान गर्दै आएको इलाका प्रहरी कार्यालय खिलतपुरका निमित्त प्रमुख देवराज ओलीले बताउनुभयो । यसैक्रममा समाजमा वातावरणीय शिक्षाको विकास ९सीड० र जिरी नेपालको सहकार्यमा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्ष निकायलाई ज्ञापनपत्र बुझाइएको छ । दाङको दंगीशरण र शान्तिनगरमा बाल विवाह बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, इलाका प्रहरी कार्यालय हेकुली र इलाका प्रहरी कार्यालय खिलतपुरलाई ज्ञापनपत्र बुझाइएको सीडका कार्यक्रम संयोजक माधवराज चौधरीले बताउनुभयो । “यी दुई गाउँपालिकामा अझै पनि बाल विवाह हुने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले न्यूनीकरण गर्न ध्यानाकर्षण गराएका हौँ ।”
Categorized in राष्ट्रिय