बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १६, बुधबार
जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले दुई करोड रुपिंया आर्थिक सहयोग गरेको छ । भवन निर्माणको लागत करीब चार करोड पचास लाख रुपिंया लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा–५ को हाँडीगाउँमा निर्माण हुने सो भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकासँगै प्रदेश सरकारलगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि बागमति प्रदेश सरकारले ५० लाख र ट्रष्ट आफैले रु १ करोड लगानी गर्ने छ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिनुभयो ।
करीब दुई मिनेट जति मात्रै सम्बोधन गर्नुभएका देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र बीपीको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री समेत रहनु भएको बीपीपुत्र सशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले आफु कुनै समय बीपीलाई हेर्न र सुन्न सार्जजनिक कार्यक्रममा जाने गरेको स्मरण गर्दै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको बीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा काठमाडौँ महानगरपालिका सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा मेयर शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्नुभयो र बीपीले २०१५ सालमा ल्याएको दुइ–तिहाई पछि तत्कालिन शासकबाट खोसिएको थियो भने अहिलेको नेतृत्वले मुलुकलाई कुनै पनि दुर्घटना नहुने गरी देशलाई बचाएर अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको कुरा मेयर शाक्यले सुनाउनु हुँदै शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराउनुभयो । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको पनि सहभागिता थियो ।
Categorized in उपत्यका

