बेरुत विस्फोटनबाट तीन लाख मानिस विस्थापित
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
एजेन्सी – लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् ।
शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् ।
स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताउनुभयो ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विष्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट भण्डारण गरिएको थियो ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताउनुभएको छ । उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
यस विस्फोटनको घटनाप्रति विश्वभरबाट सहानुभूति र समवेदना व्यक्त भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
फ्रान्सका राष्ट्रपति आकस्मिक रूपमा लेबनान जाने
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्नुहुने भएको छ ।
लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उहाँले बिहीबार लेबनानको भ्रमण गर्न लाग्नुभएको जनाइएको छ ।
राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ ।”
उहाँको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ ।
लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ ।
बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ । अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन् ।
घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।
Categorized in राष्ट्रिय