बेलायतबाट नेपाल प्रवेशमा
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ८, बुधबार
काठमाडौं - नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार अपराह्न सिंहदरबारमा बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)को बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । युरोपियन युनियनले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए ।
बैठकले १ पुसयता नेपाल आएकाले अनिवार्य रूपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर गन्तव्यमा जान पनि अनुरोध गरेको छ । यस्तै, आज नेपाल आउने ट्रान्जिटमा रहेकाले अनिवार्य रूपमा १० दिन होटल क्वारेन्टाइन बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय

