बैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारलाई निर्वाचन आयाेगकाे अनुरोध
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १५, बिहिबार
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक विदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो ।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने आयोगले निर्णय गरको बताए । त्यस्तै मतदान केन्द्र रहेको विद्यालयहरुमा बैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ ।
त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई बैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ ।
निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयबारे जानकारी दिँदै सहायक प्रवक्ता अर्यालले भने, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकिय कार्य सञ्चालन गर्न मिति २०७९ बैशाख २८ गतेदेखि मिति २०७९ बैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरुका विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतीबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।’
उनले थपे, ‘२०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ बैशाख २८ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै स्थानीय तहलाई लेखि पठाउने । स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।’
Categorized in राष्ट्रिय

