STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भट्टराई प्रस्तावक राखी प्रचण्डद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उनले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रस्तावक रहेका छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समर्थक रहेकाे निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिए।

चितवन–३ बाट निर्वाचन लड्ने या गोरखाबाट निर्वाचन लड्ने भन्ने लामो चर्चापछि अध्यक्ष दाहालले आज गोरखा–२ बाट उम्मेदवारी दिएका हुन् । अध्यक्ष दाहाल उम्मेदवारी दर्ताका लागि पूर्वप्रधानमन्त्री डा भट्टराईसहित, पार्टीका वरिष्ठ नेता श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डेसहितको टोली लिएर बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ (क) मा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फडिन्द्र देवकोटा र (ख) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै नेकपा (एमाले)बाट गोरखा क्षेत्र नं २ मा अब्दुस मियाँले उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Categorized in राजनीति