भदौ १ देखि कीर्तिपुर लकडाउन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भदौ १ गतेदेखि ९ गतेसम्म कीर्तिपुर नगरपालिका लकडाउन हुने भएको छ । कीर्तिपुर नगरपालिका जनचेतना र लकडाउन सुशासन अनुगमन समितिको संयोजनमा आइतबार बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न भदौ ९ गतेसम्म सार्वजनिक यातायात समेत बन्द गरिने निर्णय सो बैठकले गरेको छ । लकडाउनको अवधिमा औषधि पसलबाहेक कीर्तिपुरका सम्पूर्ण पसल,बजारहरु बिहान ७ देखि ११ बजेसम्मात्र खोल्ने निर्णय भएको छ । कीर्तिपुर प्रवेश गर्ने नाका तथा नगर क्षेत्रमा कडा गरिने बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण आवागमन बन्द गरिने भएको छ । जनसमुदायमा जनचेतना जगाउन पर्चा, स्टिकर टाँस्ने र माइकिङ्ग गरिने पनि जानकारी पनि अनुगमन समितिले दिएको छ । आजको आकस्मिक बैठकमा कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का रिजाललगायत वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकमा कीर्तिपुर बजार व्यवस्थापन समितिका पदाधिकारी एवं स्थानीय संघसंस्था र क्लबका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । अनुगमन समितिकै संयोजनमा आइतबार नै कीर्तिपुर नगर उद्योग वाणिज्य संघ र यातायात व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गरी बजार र सार्वजनिक सवारी बन्दको निर्णय गरेको हो । Categorized in उपत्यका


