भारतीय अतिक्रमणविरुद्ध काठमाडौंमा मोदीको पुत्ला जलाइयो, देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार
काठमाडौं – भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ भने देशका विभिन्न भागमा विरोध प्रदर्शन भएका छन् ।
काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने करिब तीन दर्जन पक्राउ परेका छन् ।
सोमबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)लगायतका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
देशका विभिन्न ठाउँमा प्रदर्शन : गोर्खामा राँके जुलुस
नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ ।
आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो ।
जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, चिनिया हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए ।
बुटवलमा प्रदर्शन
नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेकसहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भूमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शान्ति समाजले प्रदर्शन गरेको हो ।
भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ । यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ ।
Categorized in राष्ट्रिय