भारतीय विदेश सचिवको प्रधानमन्त्रीसँग शिष्टाचार भेट
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १२, शुक्रबार
काठमाडौं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।
आफूसँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरे ।
भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ ।
सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनका थिए, “हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ । सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन् । इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन् । यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ । यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले सचिव हर्षबद्र्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए । नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उनले जनाएका थिए ।
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो । त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ ।
सचिव श्रृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।
बिहीबारै नेपाल आएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।
बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।
आज शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।
Categorized in राजनीति

