भिक्षु सुगन्धप्रति बधाई
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार
काठमाडौं : नेपाली भिक्षु सुगन्ध महास्थविर (डा. अनिलमान शाक्य) थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान ‘फ्रा देवशाक्यवंशपण्डिता’ बाट विभूषित हुनुभएको छ ।
थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत्मा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् । थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ र उनी चार दशकयता थाइल्यान्डमा छन् ।
थाई भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो क्रममा देव पद रहेको छ । थाइल्यान्डको बौद्ध धर्ममा योगदान पुर्याएको सम्मान स्वरूप त्यहाँका राजाले यो पद प्रदान गरेका हुन् ।
भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर पनि हुन् । थाइल्यान्डमा ३ लाख २८ हजार २ सय ४४ भिक्षु छन् ।
यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति हार्दिक बधाई ज्ञापन गरेको छ । विगतमा झै आउँदा दिनहरुमा पनि उहाँ गहकिला बुद्ध शासनिक कार्यहरुमा अनवरत रुपमा लागिरहन सकूनँ भनी समूहले शुभकामना व्यक्त गरेको छ ।
Categorized in राष्ट्रिय