STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्टाचार मुद्दामा दोषी पूर्व सहसचिव शर्मा कारागार चलान

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २५, शुक्रबार

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन्।साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन्।  

कारागारका जेलर रोमबहादुर महतले बुधबारदेखि शर्मा कारागारमा रहेको बताए। उनले भने, ‘बुधबारबाट उहाँ हामीकहाँ हुनुहुन्छ।’ विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन्।

बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ। विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्यिार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो।

विशेष अदालतले शर्मासहित कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको थियो। शर्मा  कर फर्छ्यौट आयोगका सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक थिए। 

अदालतले लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको छ भने ढकाल र शर्मालाई ९–९ वर्ष कैद सजाय तोकेको छ। कैद सजायका साथै उनीहरूले तीन जनालाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना पनि गराएको छ।

शर्माविरुद्ध जरिवाना कम भएको भन्दै अख्यिारले सर्वोच्चमा पुनरावेदन दिएको हो। शर्मा र उनकी श्रीमती कल्पना उप्रेतीका बारेमा विशेषले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो। 

आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ।

यसअर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ। 

Categorized in अपराध-दुर्घटना