STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मकालुमा ५० घर पहिराको उच्च जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

सङ्खुवासभाको मकालु गाउँपालिकामा ५० घर पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकालु गाउँपालिका–३,४र ५ का ५० घरपरिवार पहिरोको उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईले जानकारी दिनुभयो । मकालुका पावाखोला, पेपुवा, सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानी, नयाँ बस्तीका दर्जनभन्दा बढी गाउँलाई पहिरोले चारैतिरबाट घेरेको छ, जति बेला पनि ती घरपरवार पहिरोमा पर्न सक्ने सम्भावना रहेको कार्यवाहक अध्यक्ष राईको भनाइ छ । पहिरोको उच्च जोखिममा परेका ५० भन्दा बढी घरका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि नसकिएको उहाँले बताउनुभयो । उच्च जोखिममा भएका परिवारलाई सार्न सुरक्षित स्थान खोजी भइरहेको भए पनि ठूलो सङ्ख्या भएका कारण गाउँपालिका एक्लैले मात्रै तत्काल अन्यत्र सार्न नसकिने अवस्थामा रहेको कार्यवाहक अध्यक्ष राईले जानकारी दिनुभयो । गत असार २ र ३ गते पहिरोले मकालु गाउँपालिकाभित्रका अधिकांश गाउँलाई पहिरोले चिरा–चिरा बनाएको थियो । चारैतिरबाट पहिरोकोे जोखिममा रहेका मकालु–५ का चार गाउँका २९ घर विस्थापित भएका थिए भने दुई घर पहिरोले पुरेको थियो । गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जानसक्ने उच्च सम्भावना रहेको मकालु–५ का वडाअध्यक्ष जापान गुरुङले बताउनुभयो । पहिरोको उच्च जोखिम भएका कारण उनीहरु छिमेकी र आफन्तको शरणमा बसिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय