मध्यरात काठमाडौंकाे फाेहाेर उठाउने सहमति
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २७, शुक्रबार
काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । बिहीबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो।
सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आज (शुक्रबार)देखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ ।
सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ ।
फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिने र फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने पनि सहमति भएको छ।
त्यस्तै फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ।
यसअघि जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका-१ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका- २ का अध्यक्ष तिलकबहादुर लामा, धुनीबेंसी नगरपालिका- १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका- ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
Categorized in उपत्यका

