मन्त्री र मेयरद्वारा रानीपोखरी पुनर्निर्माणको अनुगमन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार
विजयरत्न असंबरे
रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज शुक्रबार रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुनर्निर्माणको काम शत प्रतिशत र मन्दिर तथा साैन्दर्यको काम ८५ प्रतिशत सम्पन्न भएकोे कुरा मन्त्री मानन्धर र मेयर शाक्यलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिनुभयो । मेयर शाक्यसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो । अनुगमनपछि संक्षिप्त मन्तव्य दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले सुरुमा विज्ञ समूह बनाएर उनीहरुकै राय–सुझाव अनुसार प्रताप मल्लकालीन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गराउनुभयो । मेयर शाक्यले पहिला गुम्बज शैलीको मन्दिर रहेको समेत स्मरण गराउनुभयो । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु गरेको भन्दै मौलिक रुपमा उभ्याउन पाउँदा खुशी लागेको बताउनुभयो । उपभोक्ता समितिका तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी भइरहेको कुरा जानकारीमा आएको छ । त्यो अपर्याप्त भएमात्र बाहिरी स्रोतबाट पानी राख्ने योजना रहेको कुरा बताउनु हुने तुलाधरका अनुसार पोखरी पुनर्निर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौन्दर्यकाे लागि करिब १५ करोड गरी करिब २५ करोडको लागतमा पुनर्निर्माण भैरहेको कुरा थाहा हुन आएको छ । Categorized in उपत्यका


