महतोले आफ्नाे अभिव्यक्ति सच्याए
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २३, आइतबार
उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर चाैतर्फी विराेध भएपछि उनले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।
शनिबार राति एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो विषय पार्टीको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उनले बताएका छन् ।
यसअघि महतोले पदभार ग्रहणका क्रममा अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । जनता समाजवादी पार्टीले उठाउँदै आएको पहिचानको माग र मुद्दा पूरा गराउनका लागि सरकारमा सहभागी भएको महतोले बताएका थिए ।


