STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख जरिवाना

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ ।

महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि पूर्वराजा शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ ।

त्यस्ता आठ पत्रमार्फत महानगरले पूर्वराजा शाहलाई कुल सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) तीनकुनेमा प्रदर्शनका क्रममा राजावादीले तोडफोड र आगजनी गरेका थिए । राजावादी हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।

स्टन्ट भयो : कमल थापा 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको विषयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका छन् । महानगरको उक्त निर्णयलाई थापाले ‘हास्यास्पद’ भनेका छन् ।

शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै महानगरले शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । जरिवानासम्बन्धी पत्र निर्मलनिवासमा पठाइएको छ ।

सोही विषयमा शनिबार सामाजिक सञ्जालमार्फत थापाले ‘स्टन्ट’ भएको टिप्पणी गरेका छन् । “मेयर बालेन साह (शाह)बाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु,” उनले फेसबुकमा लेखेका छन् ।

उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरलाई आग्रह गरेका छन् ।

उनले उक्त पत्रको भाषामा पनि आपत्ति जनाएका छन् । पत्र फिर्ता लिन उनले सुझाव दिएका छन् ।

“पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिऊँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो,” थापाले लेखेका छन्, “पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।”

Categorized in राष्ट्रिय