STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महायज्ञबाट बीस लाख सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट रु २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद रु २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक रु आठ लाख जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक अनिरुद्ध थापाले बताउनुभयो । “विद्यालय सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगद रकमका साथै सहयोगी दाताहरुले बालुवा, सिमेन्ट, रोडा र ढुङ्गा आवश्यकताअनुसार उपलब्ध गराउने भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विद्यालय परिसरमा विद्यार्थीलाई खेल्नको लागि भलिबल र ब्याडमिन्टन खेलमैदानलगायत बालबगैँचा बनाउने सोच बनाएको छु ।” पशुपति अन्नपूर्ण आश्रमका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा जगदीश वैद्यले विद्यालय सञ्चालन गर्नका लागि उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाउनुभएको रु २७ लाख भने प्राप्त गर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका थापाले बताउनुभयो । महायज्ञ सञ्चालन गर्न सबै गरी करीब रु आठ लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । स्वर्णिम श्रीमदभागवत भक्ति सत्सङ्ग महायज्ञमा कथा नारीविदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माले कथाबाचन गर्नुभएको थियो । विसं २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा पुगेको थियो । चार शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि विसं २०७४ साउनबाट पूर्णरुपमा बन्द नै भएकोमा २०७६ वैशाखबाट पुनः सञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको सो विद्यालयलाई आर्थिक सहयोगका लागि महायज्ञ सञ्चालन गरेको विद्यालयले जनाएको छ । एक दरबन्दी र तीन निजी स्रोतमा गरी चार शिक्षकले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको सो विद्यालयमा अहिले ४३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
Categorized in राष्ट्रिय