STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १७, आइतबार

काठमाडौं - सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।

महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागमा ऐक्यवद्धताजनाउने राजनीतिक पार्टी र संस्थाहरु बढ्न थालेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै वैशाख १५ गतेबाट काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनमा उत्रिएका पुनको मागलाई समर्थन गर्नेहरुको संख्या बढ्दै गएको हो ।

राष्ट्रिय प्रजातन्त्त पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत अन्य पार्टी र विभिन्न संघसंस्थाहरुले उनको मागमा ऐक्यवद्धता जनाएका छन् ।

संस्था र पार्टीमात्रै नभइ व्यक्तिहरुले पनि पुनको मागमा समर्थन जनाएका छन्। कानून व्यवसायीदेखि मोर्चाहरुले समेत उहाँको मागको समर्थन गरेका छन् । कानून व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता जनाउन माईतीघर पुगेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले मुलुक राजनीतिले मात्रै नचल्ने बताए।

उनले उद्योग धन्दा, कलकारखाना र नवप्रवर्तनले नै मुलुकको विकास हुने भन्दै आविष्कारको क्षेत्रमा सरकारले लगानी गर्न जरुरी रहेको बताए। उनले सत्ता गठबन्धन परिवर्तन गर्ने र दुई महिनामा सरकार परिवर्तन गरेर मात्रै देशको विकास सम्भव नरहेको जिकिर गरे ।

उनले महावीर पुनको सामाजिक आन्दोलनलाई अन्देखा गरिए देशभर झनै बिद्रोह चर्किने चेतावनी दिए। उनले भने, ‘मुलुक राजनीतिले मात्रै चल्दैन, चटकले मात्रै चल्दैन, उद्योग धन्दा, कलकारखाना र नवप्रवर्तनले नै मुलुक विकास हुन्छ, हामी कानून व्यवसायी उहाँको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दछौँ । सरकार दुई, दुई महिनामा सत्ता परिवर्तनको खेलमा रमाएर मुलुकको विकास हुँदैन । दुई महिनामा सत्ता गठबन्धन परिवर्तन गरेर मुलुकको विकास हुँदैन, विकास गर्ने हो भने नवप्रवर्तनमा साथ दिनुपर्छ । यो आन्दोलनलाई अन्देखा नगरियोस् ।’

त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, अध्यक्ष तारानाथ लुईंटेलले वर्तमान सरकारले विकासको लहर देख्न नसकेको बताए। उनले नेपालीहरुले उत्पादन गरेका सामग्रीहरुको सरकारले प्रोत्साहन गर्न नसकेको बताए।

उनले महावीर पुनको आन्दोलनलाई आफूहरुको पूर्ण समर्थन रहेको बताए। त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका अर्का एक व्यक्तिने पनि पुनको माग जायज रहेको बताए।

उनले भने, ‘यो सरकार नेपालमा विकासको लहर देख्न चाहँदैन । यो सरकारले नेपालीहरुले गरेको कुरालाई प्रोत्साहन गर्न सक्दैन भने सरकारमा रहनु उचित हुँदैन । जो मुलुकको विकासको बाधक बन्छ भने त्यो सरकार होइन ।’ उनले सरकारले तत्काल पुनका मागहरुको सम्बोधन गर्नुपर्ने बताए।

Categorized in राजनीति