माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ – अध्यक्ष दाहाल
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १७, मंगलबार
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभयो, “संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।” प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई आज पार्टीमा स्वागत गर्दै उहाँले संविधानलाई जीवन्त दस्तावेजको संज्ञासमेत दिनुभयो । अध्यक्ष दाहालले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रक्रिया शुरु गरिने बताउनुभयो ।
सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तराई मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसँग जोड्ने द्रुतमार्गको काम पनि अघि बढेको छ ।”उहाँले तराई मधेशमा सरकार मधेशी जनताको हित अनुकूल नचलेको बताउनुभयो । “तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ”, उहाँले भन्नुभयो ।
प्रदेश नं २ मा रहेर राजनीति गरिरहेका मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले नेकपामा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, सशस्त्र द्धन्द, मधेश आन्दोलन एवं आदिवासी, जनजातिलगायत अधिकार प्राप्तिका लागि सङ्घर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात् गर्ने बताउनुभयो । कार्यक्रममा सो पार्टी नेकपामा समाहित भएको अध्यक्ष यादवले घोषणा गर्नुभयो । नवप्रवेशीलाई अध्यक्ष दाहालले माला र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


