STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिथिलानी वरसाइत् पर्व मनाउँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार

मिथिलाका विवाहित महिलाले वरसाइत् वटसावित्री पर्व धुमधामका साथ मनाइरहेका छन् । जेठ औँशीका दिन आज सोमबार अटल शौभाग्यको कामना गर्दै विवाहित मिथिलानी मिथिलाका महिला आज व्रत बसेका हुन् । यो पर्व अब भोलि बिहान सूर्योदयसँगै समापन गरिनेछ ।  
सत्ययुगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँशीका दिन अटल शौभाग्यको वरदान पाएकी विश्वासका आधारमा यो पर्व मनाउने गरेको मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँशीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष वरको रुख फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आरधना गर्दै यो पर्व मनाउँछन् । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका अचेत भई ढलेका आफ्ना पति सत्यवान्लाई जगाएर अटल शौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजा आरधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज पर्व मनाइरहेकी भङ्गाहा नगरपालिका–४ की प्रीति कर्णले बताउनुभयो । 
नयाँनयाँ बस्त्र परिधानमा सजिएर वट वृक्ष परिसरमा सरसफाइ गर्नेदेखि औँशीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रतको परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हंसीमजाक र घरायसी दुःखसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको मिथिलानी बताउँछन् । 
 
मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । पछिल्लो समयमा मिथिला क्षेत्रमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एक अर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झाको भनाइ छ । विवाहित महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ का सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । 
Categorized in राष्ट्रिय