मिथिलामा आज दोस्रो दिन पनि ‘बेलनौत’
Janjati Khabar | २०८१ आश्विन २३, बुधबार
२३ असोजः मधेसको मिथिलाक्षेत्रमा आज दोस्रो दिन पनि यता दशहारा भनिने दसैँ पर्वको ‘बेलनौत’ गरिँदैछ । परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन षष्ठी (खस्टी) तिथिका दिन गरिने यो उत्सवमय विधि यसपालि तिथिको घटबढले ठाउँठाउँमा अघिपछि परेको हो ।
मङ्गलबार बिहान ७ बजेर १० मिनेटपछि सुरु भएर आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठीको भोग मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गले देखाएका छन् । सामान्यतया नवरात्रको छैटौँ दिन मध्याह्नपछि मनाइने यो उत्सवमय विधि षष्ठी तिथि पनि हिजै दिउँसोभरि कायम थियो । यस आधारमा हिजो ‘बेलनौत’ गरिनु ठिकै भएको पाका मैथिल बताउँछन् । “दशहराको छैटौँ दिन पनि भयो, उत्सव मनाइने बेला दिउँसभरि षष्ठी तिथि पनि रह्यो, त्यसैले हामीले बेलनौत हिजै ग¥यौँ”, बर्दिबास–९ पशुपतिनगरका बासिन्दा मिथिला लोकपरम्पराका जानकार ८५ वर्षीय नथुनी महतो भन्नुहुन्छ, “यद्यपि पूmलपातीका अघिल्लो दिन बेलनौत मनाइने परम्पराले आज गरिनु पनि ठिकै हो, तर षष्ठी तिथिभित्रै गरिनुपर्छ ।” एउटा अर्को मत षष्ठी तिथि सकिएर सप्तमी लाग्ने दिन ‘बेलनौत’ गरिनुपर्नेछ । यसअनुसार आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठी रहेर सप्तमी लाग्ने हुँदा यो विधि आज गरिन लागेको मिथिला क्षेत्रका अधिकांश ठाउँको तयारी देखिन्छ । “पूmलपातीको अघिल्लो षष्ठीको अन्तिम भोग रहेको दिन बेलनौतको परम्परा छ, त्यसैले हामी आज यो विधिको उत्सव मनाउँदैछाँै”, मटिहानीस्थित दुर्गा पूजा व्यवस्थापन समितिका चन्देश्वर साहले भन्नुभयो । साहले भन्नुभएजस्तै अधिकांश ठाउँमा आज ‘बेलनौत’ को तयारी देखिँदोछ । दशहरा पर्व (नवरात्र) को छैटौँ दिन मध्याह्नपछि षष्ठी तिथिको भोगमा वा पूूmलपातीको अघिल्लो दिन ‘बेलनौत’ गरिनुपर्ने भन्ने दुवै मत ठीक रहेको केही पाका मैथिलको धारणा छ । “तिथि, दिन र समयले दिँदा उपयुक्तताअनुसार गर्न सकियो”, जलेश्वर–४ का बासिन्दा पूर्वप्रशासक ८५ वर्षीय कृष्णचन्द्र झाले भन्नुभयो । यसपालि तिथिको भोग घटबढले नवदुर्गामध्ये कुष्माण्डाको पूजाआराधना दुई दिन गरिए झँै बेलनौत पनि दुवै दिनमध्ये उपयुक्तताअनुसार गर्न सकिने झाको भनाइ छ । यसअनुसार मिथिलाका धेरै ठाउँमा पूmलपातीको अघिल्लो दिनका आधारमा आज ‘बेलनौत’ को तयारी छ । यस विधिमा माटो मुछेर बनाइएका नवदुर्गाका प्रतिमाको आँखा पूmलपातीका दिन बिहान–बेलको भेट्नोले कोट्याएर उघार्ने चलन छ । यसै परम्पराका लागि एक दिनपहिले प्रतिमा निर्माणस्थलबाट सांस्कृतिक झाँकी र बाजागाजासहित बस्ती नजिकको बेलको रूखको एउटा फल रातो रुमालले छोपेर बाँध्ने चलन छ । भोलि देवीको आँखा उघारिन यो फल टिप्ने भावबाट बेललाई निम्ता दिइने विधिलाई ‘बेलनौत’ भनिएको हो । यसरी निम्ता गरिएको बेल पूmलपातिका दिन सखारै फेरि बाजागाजासाथ टिपेर ल्याई त्यसको भेट्नुले देवी प्रतिमाको आँखा उघारिएपछि प्रतिमास्थल सर्वसाधारणको दर्शन र पूजाआजाका लागि खुला गरिन्छ । देवीको आँखा नउघारिएसम्म निर्मित प्रतिमा पर्दाले छोपिएर राखिन्छन् । आँखा उघारिएपछि प्रतिमा सजीव हुने विश्वास गरिन्छ । यसै मान्यतासाथ आँखा उघारिएपछि देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिने चलन बसेको पाका मैथिल बताउँछन् ।
Categorized in राष्ट्रिय


